एनसेल एपक्याम्प २०१५ को विजेता मंगलबार घोषणा हुने
काठमाडौं, पुस ६ print
नेपालको मोवाइल सेवाप्रदायक एनसेलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरेको एनसेल एपक्याम्प २०१५ को विजेता मंगलबार घोषणा गर्ने भएको छ । खेल तथा मनोरंञ्जन, स्वास्थ्य, पर्यटन र युटिलिटी विधाबाट १/१ समूह विधागत विजेता र तीमध्ये एउटा समूहलाई सर्वोकृष्ट विजेता घोषणा गरिने छ ।
प्रत्येक विधाबाट ६/६ वटा गरी प्रतिस्पर्धाको लागि उत्कृष्ट २४ मा पुगेका समुहहरुले सोमबार स्वतन्त्र निर्णय मण्डलको अगाडि आफ्नो आइडियाको र आफुले बनाएको मोवाइल एपको प्रर्दशन गरेका थिए । निर्णायक मण्डलमा ज्योति तण्डुलकार (अल्टरनेटिभ टेक्नोलोजी), करुण थापा (मन्त्र मिडिया नेटवर्क) आइटी विज्ञ मनोहर भट्टराई , नेपाल पर्यटन बोर्डका भुतपूर्व सिइओ प्रचण्डमान श्रेष्ठ, डा. पुकार मल्ल (हाम्रो दाइत्व), डा. विश्वप्रकाश श्रीवास्तव (कलेज अफ वायो मेडिकल इन्जीनियरिङ्ग एण्ड एप्लाइड साइन्स) र तोमास मार्तुनास (एल टि के क्यापिटल) रहेका थिए ।
'प्रतियोगीहरुले गरेको प्रस्तुति हेर्दा नेपालमा आइटी क्षेत्रमा युवाहरुको धेरै उत्साह र जोस रहेको पाइयो,' निर्णायक मण्डलमा रहेका डा.मल्ल ले भने । उनले अबका दिनमा यस्ता युवाहरुलाई उद्यमी बन्नका लागि चाहिने सहयोग उपलब्ध गराउन तर्फ ध्यान केन्द्रित हुनपर्ने बताए ।
यस्तै निर्णायक मण्डलका सदस्य मार्तुनासले गतबर्षको एनसेल एपक्याम्पको तुलनामा यस बर्ष धेरै राम्रा एपहरु प्रतियोगितामा रहेका र अन्तर्राष्ट्रिय बजारमा पुग्ने संभावना बोकेको बताए । 'प्रतियोगीले एप निमार्ण गदै गर्दा अन्तर्राष्ट्रिय बजारमा के आइरहेको छ र के भइरहेको छ जस्तो कुरालाई ध्यान दिन अवश्यक छ,' उनले भने ।
विगत पाँच महिनादेखि जारी एनसेल एपक्याम्पमा प्रतियोगिताका लागि दर्ता भएका ७२८ आइडिया मध्ये १५० आइडिया प्रतियोगिताको लागि छनोटमा परेका थिए । छनोटमा परेका समूहलाई दिएको विभिन्न चरणको सेमिनार र तालिम पश्चात अन्तिम प्रतिस्पर्धाको लागि प्रत्येक विधाबाट ६/६ वटा छानिएका थिए ।
मनोरञ्जन विधाअन्तर्गत एन्सिएन्ट्स अफ मण्डला, आर्क्युब गेम्स, फ्लिप्पड, लिस्न, अननेम्ड (भि आर), र अप छानिएका थिए । यस्तै स्वास्थ्य विधाबाट हाम्रो हस्पिटल, मेरो हेल्थ, मम्मा केयर, नारी, स्किन कन्सल्ट, र टेलि मेडिक अन्तिम ६ प्रतिस्पर्धिका रुपमा छानिएका थिए । युटिलिटी विधामा फुड नेपाल, नेपाली कोडर्स आर्ट्स एण्ड क्राफ्ट, पिनपिक्स, थिङ्गस्ले, ट्रेल इट र ट्राभल अक्सनियर परेको थिए र पर्यटन विधाबाट घुमघाम, बुलेटिन बोर्ड, माइ क्याब, निडर, एन टाइल्स, र पाङ्गराज छानिएका थिए ।
एनसेलले एप छनोटका लागि एपको आवश्यक्ता, एपबाट समाधान हुने समस्या, एपको व्यापार सम्भावनाका साथै प्रतियोगीहरूको प्रस्तुतिलाई मुख्य आधार बनाइएको थियो । यस पटकको एनसेल एपक्याम्पको पार्टनरको रुपमा नबिल बैंक, काठमाडौं कलेज अफ म्यानेजमेन्ट, इ–सेवा र मेटलाइफ रहेका छन् ।
विधागत विजेताले २ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने सर्वोत्वकृष्ट विजेताले थप ५ लाख रुपैयाँ नगद पुरस्कार सहित २०१६ माहुने अन्तर्राष्ट्रिय एप सम्मेलनमा भाग लिने अवसर पाउनेछन् ।
प्रकाशित मिति:
सोमबार, पौष ६, २०७२ १७:४७:२६
प्रतिकृया दिनुहोस